शहरी विकास मन्त्रालयका आयोजनाहरूको अनुगमन अनलाइनबाट हुने
५ भाद्र, काठमाडौं । शहरी विकास मन्त्रालयले प्रत्यक्ष रूपमा अनलाइनमार्फत आयोजनाहरूको दैनिक अनुगमन मन्त्रालयबाटै गर्न सकिने भएको छ । आज बिहीवार मन्त्रालयमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले ‘अनलाइन अनुगमन कक्ष’ उद्घाटनगर्नुभएकोलगतै अनलाइनबाट आयोजनाहरूको अनुगमन गर्न सकिने भएको हो ।
उदघाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आयोजनाहरूको कार्यगति बढाउन र आइपर्ने समस्या हल गर्न अनलाइन अनुगमन कक्षबाट सहज हुने विश्वास व्यक्त गर्नुहुँदै भन्नुभयो, “शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्ष आजबाट सञ्चालनमा आएको छ । यसले अनुगमनका क्रममा हुने खर्च र समय बचत हुने र आवश्यक समन्वयमा सहज हुँदा आयोजनाहरु समयमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”
यस नयाँ प्रविधिमार्फत सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवन, त्रिवि क्रिकेट स्टेडियम, नवलपुर नमुना सदरमुकामजस्ता महत्त्वपूर्ण आयोजनाहरूको प्रगतिलाई मन्त्रालयको कार्यकक्षबाटै प्रत्यक्ष निगरानी गर्न सकिने छ ।
आगामी दिनमा अन्य आयोजना पनि अनलाइन अनुगमन प्रणालीमा जोड्ने मन्त्रालयको योजना छ । अअनलाइनमार्फत अनुगमन गरे पनि भौतिक अनुगमनको कार्य नरोकिने मन्त्रालयले जनाएको छ ।