दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी
७ असोज, काठमाडौं । काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो । नवरात्र सुरु भएपछि नेपालीहरू शक्तिपीठहरूको पूजाआजा विशेष श्रद्धा र भव्यतापूर्वक गर्ने परम्परा छ। यस क्रममा मैतीदेवीमा पनि पूजा–आराधना गर्न ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन्।
मन्दिरभित्र बंगलामुखी, भैरव, शिव, अष्टमातृका, देवपुरुष, गणेशलगायत देवीदेवताको दर्शन गर्न सकिन्छ ।
चारैतिर मानव बस्तीले घेरिएको मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ ।
पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकाले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ‘माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको हो ।
अर्को किंवदन्दीअनुसार रुद्रमती अर्थात् हालको धोवीखोलाको किनारमा एक जना किसानले खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शिला) भेटे । त्यसलाई सार्न उनले धेरै प्रयास गरे पनि सकेनन् । बरु उनी थाकेर त्यहीँ भुसक्कै निदाए । त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयुरमा हिँडिरहेका बेला मयुरको प्वाँखको हावाले किसान ब्युँझिन पुगे । त्यसपछि उनले सबै कुरा सविस्तार देवीहरूलाई बताए । पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुसी भएर त्यहीँ बसिन् । त्यसैले कतिपयले यसलाई मयुरतीर्थसमेत भन्ने गरेका छन् । मन्दिरको मूलद्वारको सिधा उत्तरतर्फ मयुरतीर्थ छ ।
काठमाडौं निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नील बाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएको बताइन्छ ।
पञ्चकुमारी मैतीदेवी उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वको प्रतीक हो ।









