१६ मंसिर, काठमाडौं । म्यादी प्रहरी होइन अब ४० दिनको कार्यअवधि तोकेर निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको छ ।
निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ । नेपाल प्रहरीमा तहत भर्ना गरिने यस्तो जनशक्तिलाई विगतमा ‘म्यादी प्रहरी’ भनिने गरिएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भन्छन्, ‘नामकरण नै सबैथोक त होइन, तर म्यादीको साटो निर्वाचन प्रहरी राख्दा एक किसिमको अपनत्व हुन्छ, जुन कामका लागि खटिएको हो, त्यसको पहिचान पनि झल्कन्छ ।’
गृह मन्त्रालयका अनुसार ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ को मस्यौदा प्रहरी प्रधान कार्यालयबाट बन्ने क्रममा छ । प्रहरीमा तहत रहने गरी निर्वाचन प्रहरीलाई छनोटदेखि मत परिणाम नआउन्जेलसम्म कार्यअवधि गणना गरेर खटाइनेछ । यसरी खटिने सुरक्षाकर्मीलाई प्रहरी जवानले पाउने आधारभूत तलबमानअनुसार पारिश्रमिक दिइनेछ भने जवानले तत्तत् जिल्लामा पाउने स्केलअनुसार रासन भत्ता तथा पोसाक भत्ता, यात्रा गर्दा सवारी भत्ता पनि उनीहरूलाई दिइनेछ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा खटिएका म्यादीलाई ४० दिनको कार्यअवधि तोकेर प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले ३४ हजार ७ सय ६० रुपैयाँ पारिश्रमिक दिइएको थियो । रासनबापत ७ हजार २ सय र हिमाली जिल्लाको हकमा जिल्लाको न्यूनतम रासन दरअनुसार रकम पनि दिइएको थियो । तोकिएका पोसाक ६ हजार र ज्याकेट किन्न थप १ हजार, यातायात खर्चबापत १ हजार र तीन दिनका लागि दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराइएको थियो । सोहि विगतमा अपनाइएका अभ्यासअनुसार जवानसरह सेवा–सुविधा दिइनेछ ।