नेपाल–चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
२९ मंसिर, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा हुन सक्ने वन्यजन्तुको चोरीसिकारी तथा तस्करीका साथै सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती हुने गरेको हो ।
आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उत्तरी कोरला नाकामा सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस तापक्रमको प्रवाह नगरी गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनकारी दिएको हो ।
संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै भएता पनि त्यहाँ सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ ।
हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेर बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीमा झर्ने गरेको छ जसकारण त्यहाँका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन् । सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहदै सीमा सुरक्षाका लागि खटिएको पाइन्छ ।