चितवन, माघ २०८२ । नेपालको स्वास्थ्य क्षेत्रमा बिरामीको सुरक्षा र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा भव्यताका साथ सम्पन्न भएको छ। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको चिकित्सा क्षेत्रको आयाम 'निरामय' द्वारा आयोजित उक्त सम्मेलन २०८२ पौष २६ र २७ गते सञ्चालन भएको थियो।
औषधि सुरक्षा र नीति कार्यान्वयनमा जोड
सम्मेलनका प्रमुख अतिथि एवं औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि सुरक्षाका विविध पक्षमा विशेष कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले नागरिक सचेतना र बलियो नीति कार्यान्वयनमार्फत मात्रै बिरामीको सुरक्षा सुनिश्चित गर्न सकिने उल्लेख गर्दै सबै सरोकारवालालाई सहकार्यका लागि आह्वान गर्नुभयो।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव रमेश कंडेलले समृद्ध राष्ट्रका लागि नागरिकको शारीरिक र मानसिक स्वास्थ्य अनिवार्य सर्त रहेको बताउनुभयो। 'सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः' को भावबाट प्रेरित भएर स्वास्थ्यकर्मीले सेवा गर्नुपर्नेमा उहाँको जोड थियो।

सम्मेलनमा स्वास्थ्य क्षेत्रका नवीन चुनौती र समाधानका विषयमा गहन छलफल भएको थियो। कार्यक्रमको मुख्य आकर्षणमा ४ वटा विशेष प्राविधिक सत्र र १ वटा प्यानल छलफल, २२ वटा पोस्टर र ४ वटा अतिरिक्त मौखिक प्रस्तुतिहरू सम्पन्न भएका थिए। विषयविज्ञका रूपमा डा. कालु शर्मा सुवेदी, डा. शीतल अधिकारी, प्रा. ममता शर्मा न्यौपाने, प्रा. डा. कल्पना पौडेल, डा. विष्णु बिष्ट र प्रा. डा. मुनिराज क्षेत्री लगायतका वरिष्ठ विज्ञहरूले आ–आफ्नो अनुभव र अनुसन्धान प्रस्तुत गर्नुभएको थियो।
पृथ्वी जयन्तीको स्मरण र राष्ट्रिय एकता
सम्मेलनको दोस्रो दिन पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। 'मेरो देश, मेरो जिम्मेवारी — नेपाल प्रथम' भन्ने भावनालाई आत्मसात् गर्दै स्वास्थ्यकर्मीहरूलाई एकताबद्ध भई काम गर्न सम्मेलनले उत्प्रेरित गरेको थियो।

'निरामय' राष्ट्रिय टोली र भावी योजना
सम्मेलनकै अवसरमा स्वास्थ्य क्षेत्रमा निरन्तर कार्य गर्न निशा अधिकारीको संयोजकत्वमा 'निरामय' नामक राष्ट्रिय टोली घोषणा गरिएको छ। नवनियुक्त संयोजक अधिकारीले 'वसुधैव कुटुम्बकम्' को भावना अनुसार स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आगामी एक वर्षभित्र वीरगञ्जमा नर्सिङ विद्यार्थीहरूलाई लक्षित गरी अर्को राष्ट्रिय कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ।

चितवन मेडिकल कलेजकी प्राध्यापक ममता शर्मा न्यौपानेले आध्यात्मिक चेतनासहितको स्वास्थ्य सेवा आजको आवश्यकता रहेको बताउनुभयो। सम्मेलन संयोजक डा. दीर्घराज जोशीका अनुसार, न्यूनतम शुल्कमा गुणस्तरीय आवास र भोजनसहितको व्यवस्थापन विभिन्न सहयोगी हातहरूको सद्भावले सम्भव भएको हो।

सामाजिक चेतना, करुणा र इमानदारितालाई स्वास्थ्य सेवाको मेरुदण्ड बनाउनुपर्ने निष्कर्षका साथ सम्मेलन समापन भएको छ।