पौष ३०, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारतले ५३८ वटा गाडी दिने भएको छ।
२०७९ सालको निर्वाचनमा भारतले निर्वाचन आयोगलाई ८० वटा गाडी दिएको थियो। त्यसैगरी निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न सरकारी निकायलाई दिन लागेको हो।
आयोग स्रोतले भन्यो, ‘निर्वाचनको सुरक्षाका लागि पनि गाडी आउनु महत्वपूर्ण छ। र माघको दोस्रो साता भित्र सबै गाडी आइसक्ने जानकारी प्राप्त भएको छ ।’
सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड बजेट स्वीकृत गरेको छ। त्यस्तै नेपाल प्रहरीलाई ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकमा २ अर्ब ४० करोड छुट्याएको छ।
नेपालको निर्वाचनका लागि युरोपेली मुलुकहरूले भने संयुक्त राष्ट्रसंघीय निकाय मार्फत् सहयोग गर्ने जानकारी दिएका छन्। जापानले सिधै आर्थिक सहायता गर्ने भएको छ। चुनावकै शीर्षकमा भन्दा पनि कुनै सहयताको शीर्षक परिवर्तन गरेर चुनावमा सहयोग गर्न लागेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ।
निर्वाचनका लागि अर्थ मन्त्रालयले चीन सरकारलाई पनि सहयोग माग गर्दै पत्र लेखिएता पनि चीनका तर्फबाट भने कुनै पनि जबाफ प्राप्त नभएको स्रोतले जनाएको छ।