माघ ४, काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो ६ महिनामा ५१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
जिल्लाको फेदीखोला, पुतलीबजार, आँधीखोला, भीरकोट, वालिङ, गल्याङ्, चापाकोट र मिर्मिस्थित ट्राफिक चेकपोष्ट मार्फत राजस्व सङ्कलन भएको हो । ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ४१८ सवारी चालकलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कुल सङ्कलित राजस्वमध्ये साउनमा एक हजार ४२३ सवारी चालकलाई कारबाही गरेर नौ लाख ९९ हजार र भदौमा एक हजार ३४४ सवारी चालकबाट १० लाख ५२ हजार राजस्व सङ्कलन भएको थियो । यस्तै असोज महिनामा ६१९ सवारी चालकलाई कारबाही गर्दा पाँच लाख ६५ राजस्व सङ्कलन भएको स्याङ्जाका ट्राफिक प्रहरी प्रमुख भुपेन्द्र प्रसाद गौलीले जानकारी दिनुभयो ।
त्यसैगरी कात्तिकमा ८४१ सवारी चालकलाई कारबाही गरेर सात लाख दुई हजार राजस्व सङ्कलन गरेको प्रहरीले मङ्सिरमा एक हजार १०२ सवारीबाट नौ लाख २४ हजार पाँच सय र पौष महिनामा एक हजार ७९ सवारी धनीलाई कारबाही गरेर नौ लाख १७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रहरीले बताए।
आर्थिक वर्ष २०८१र८२ को पहिलो ६ महिनामा आठ हजार ८५१ सवारी चालकलाई कारबाही गर्दा ट्राफिक प्रहरीले ६८ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो भने यस आर्थिक वर्ष राजस्व सङ्कलन गिरावट आउनुमा जेनजी आन्दोलन मुख्य कारण रहेको प्रहरीको भनाइ छ ।