वैदिक सनातन धर्ममा व्रतको ठूलो प्रतिष्ठा छ। प्रायः व्रत भन्नाले निराहर रहनु अथवा फलाहार गर्नुसम्मको अर्थ लिने गरिन्छ । तर, व्रतको अर्थ निकै व्यापक र गहन छ। सरल शब्दमा भन्नुपर्दा व्रतको अर्थ हो 'कुनै कुरा गर्ने दृढ प्रतिज्ञा अथवा सङ्कल्प' ।
वैदिक सनातन धर्ममा व्रतको ठूलो प्रतिष्ठा छ। प्रायः व्रत भन्नाले निराहर रहनु अथवा फलाहार गर्नुसम्मको अर्थ लिने गरिन्छ । तर, व्रतको अर्थ निकै व्यापक र गहन छ। सरल शब्दमा भन्नुपर्दा व्रतको अर्थ हो 'कुनै कुरा गर्ने दृढ प्रतिज्ञा अथवा सङ्कल्प' । उदाहरणका लागि ब्रह्मचर्य व्रत, सत्यव्रत, शीलव्रत आदिको पालनका लागि दृढ प्रतिज्ञा अथवा सङ्कल्प गर्नु र त्यसको सम्यक् पालन गर्नु व्रत हो। त्यस्तै निश्चित् तिथि, पर्व आदिमा उपवास गर्ने सङ्कल्प पनि व्रत हो। व्रताचरणले मनुष्यलाई उन्नत जीवन जिउने योग्यता प्राप्त हुन्छ ।
व्रतहरूमा तीन कुरालाई निकै महत्त्व दिइन्छ-
१) संयम-नियमको पालन,
२) देव-आराधन, र
३) आफ्नो लक्ष्यप्रति जागरूकता ।
व्रतको प्रधान उद्देश्य आत्मशुद्धि र परमात्म-चिन्तन हो। नियमित व्रत-पालनले अन्तःकरण शुद्ध हुनुका साथै बाह्य वातावरणमा पनि पवित्रता आउँदछ । व्रतको अभ्यासले सङ्कल्पशक्तिमा दृढता आउँछ। भौतिक दृष्टिले स्वास्थ्यमा लाभ हुन्छ। रोगहरूको निवृत्ति र आरोग्य प्राप्तिसँगै जीवन निष्पाप बन्दैजान्छ ।
व्रतको एउटा विधि उपवास हो । अन्न अथवा भोजन त्याग मात्र गर्नु उपवास होइन। उपवासको अर्थ हो उप समीपे वासः अर्थात् आफ्ना इष्टदेवको समीपमा रहनु । इष्ट देवताको सामीप्यमा मनबाट, वाणीबाट र कर्मबाट वास गर्नु- यही उपवास हो।
श्री अरविन्दका अनुसार भगवान्को प्राप्ति र जीवनमा दिव्यताको अभिव्यक्ति नै व्रतको लक्ष्य हो। यसका लागि आधार हो श्रद्धा। साधना केवल शरीरलाई कष्ट दिनु अथवा भौतिक देहप्रति उदासीन हुनु होइन । साधनाको अर्थ हो भगवत्कार्यमा शरीरलाई अर्पित गरिदिनु । व्रत पनि साधना हो र यो साधनामा पनि मन-चिन्तन र कर्मलाई ईश्वरमा अर्पित भाव राख्ने गरिन्छ। व्रत अहंकारबाट मुक्त हुने साधन पनि हो।
व्रतका मुख्य तीन भेदहरू छन्- १) कायिक, २) वाचिक र ३) मानसिक ।
शरीरबाट हिंसा आदि त्याग्नु कायिक व्रत हो। कटुवचन, पोल लगाउने र अनावश्यक गुण-दोषको चर्चा जस्ता वाणीका दोषबाट जोगिनु तथा हितयुक्त मधुर वाणी बोल्नु वाचिक व्रत हो। काम, क्रोध, लोभ, मद, मात्सर्य, ईर्ष्या तथा राग-द्वेष आदिबाट मनलाई मुक्त राख्नु र मनको प्रसन्नता बढाउनु मानसिक व्रत हो।
उद्देश्यका दृष्टिले व्रत तीन प्रकारका छन्- १) नित्य, २) नैमित्तिक र ३) काम्य ।
भक्तिपूर्वक भगवान्को प्रसन्नताका लागि निरन्तर कर्तव्यभावले गरिने एकादशी, प्रदोष, पूर्णिमा आदि व्रत नित्य हुन् । पाप नाश र प्रायश्चित्का लागि गरिने चान्द्रायण, प्राजापत्य आदि व्रत निश्चित् प्रयोजनका लागि हुन्। यसरी निश्चित् निमित्तले गरिने व्रतलाई नैमित्तिक भनिन्छ । र, कुनै कामनापूर्तिका लागि गरिने व्रत काम्य व्रत हो ।
व्रतको एउटा विधि उपवास हो । अन्न अथवा भोजन त्याग मात्र गर्नु उपवास होइन। उपवासको अर्थ हो उप समीपे वासः अर्थात् आफ्ना इष्टदेवको समीपमा रहनु । इष्ट देवताको सामीप्यमा मनबाट, वाणीबाट र कर्मबाट वास गर्नु- यही उपवास हो।
विविध पर्वहरूसँगै तिथि र सप्ताहका वार विशेषमा पनि व्रत-अनुष्ठान गर्ने सुन्दर परम्परा छ। प्रायः रविवार भगवान् सूर्यको, सोमवार गौरीसहित शिवको, मङ्गलवार गणपति महाराज र हनुमानजीको, बुधवार बुद्धिप्रदाता गणपति, वाणीकी अधिष्ठातृ देवी सरस्वती र ऋद्धि-सिद्धिदात्री श्रीलक्ष्मीको, बृहस्पतिवार देवगुरु बृहस्पतिको, शुक्रवार शुक्रको, शनिवार शनिदेव र हनुमानजीको उपासनासहित व्रत गर्ने विधान पालित छ । त्यस्तै तिथि विशेषका पनि अधिष्ठाता देव-देवी रहेको मान्यता छ। एकादशी, पूर्णिमा आदिसँगै विभिन्न तिथिमा विविध देव-देवीको पूजन-अर्चन गरी उपवास गर्ने गरिन्छ।
रवि सप्तमी
आईतवार र सप्तमी तिथिका अधिष्ठाता भगवान् सूर्य हुनुहुन्छ । अतः वारमध्ये रविवार र तिथिमध्ये सप्तमी तिथि सूर्य आराधनाका निम्ति समर्पित छ। अझ, रविवारका दिन नै सप्तमी तिथि पनि परेको छ भने यस संयोगलाई रविसप्तमी भनिन्छ। यस्तो संयोग परेको दिन भगवान् श्रीसूर्यनारायणको पूजा, अर्चनासँगै उपवास आदि गर्ने उत्तम दिनका रूपमा स्वीकारिएको छ ।
आइतवार र सप्तमी, सोमवार र औंशी, मङ्गलवार र चौथी, बुधवार र अष्टमीको योगलाई अत्यन्त पुण्यफलदाइि मानी विशेष महत्त्व दिइन्छ-
अमा वा सोमवारेर रविवारेण सप्तमी ।
चतुर्थी भौमवारेण विषुवत्सदृशं फलम् ।।
सामान्यतया सूर्यलाई प्रसन्न बनाएर शुभफल प्राप्त गर्न आईतवार व्रत बस्ने गरिन्छ। रविसप्तमीको शुभ संयोगबाट या शुल्क पक्षको पहिलो आईतवारबाट आईतवारको व्रत प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त विधि रहेकोछ ।
सूर्य दिव्य शक्तिको प्रत्यक्ष प्रतीक, ग्रहहरूका स्वामी र समय (काल) का विभाजक हुनुहुन्छ। युगौंदेखि निश्चय भएका सबै ग्रहहरूका स्वामी सूर्यलाई प्रसन्न तुल्याउन उपवास, जप, तपस्या र सूर्यसँग सम्बन्धित सबै पूजा र अर्घ्यदान मुख्यतया रविवारै गरिन्छ तर सूर्य नमस्कार, नियमित जलदान आदि दिनहुँ गर्नुपर्छ।
माघ मासमा शुक्लपक्षको सप्तमी तिथिलाई अचला सप्तमी, भानु सप्तमी, रथ सप्तमी, अर्क सप्तमी आदि विभिन्न नाम दिइएको छ। यस दिन देवी अदितीका पुत्रका रूपमा आदित्यको जन्म भएको प्रसङ्ग पनि स्मरण गरिन्छ। रवि-सप्तमी र त्यसमा पनि माघ शुक्लपक्षको यस्तो शुभसंयोगको अवसरमा श्रीसूर्यनारायणको उपासना गर्नु पर्दछ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्रवटा आईतवार व्रत बस्नु पर्दछ ।
प्रायः सर्वत्र प्रचलित रविवार उपवासको सामान्य नियम यस प्रकार छ-
१. आइतवारको दिन नुन पूर्णतया निषेध गरिएको छ।
२. दिनमा एक पटक नुनरहित भोजन गर्नसकिन्छ ।
३. एक छाक र सात्विक भोजन गर्नुपर्दछ ।
४. राति चाहिँ जलग्रहण पनि निषेध गरिएको छ।
५. सामान्यतया अन्नादि खानुको सट्टा फलफूल प्रयोग गर्नु राम्रो मानिएको छ।
प्रत्येक दिन वा प्रत्येक आइतबार स्नान गरेपछि' आदित्यहृदय स्तोत्र' पढ्नुपर्छ। रविवारको व्रत राख्नाले व्यक्ति रोगमुक्त र दीर्घायु हुन्छ। आइतवारको व्रत बस्दा रगत सम्बन्धी सबै प्रकारका रोगहरू फोका, पिम्पल, दाद, एक्जिमा, कुष्ठरोग आदिको निवारण हुने मान्यता छ।आदित्यहृदयको निम्न श्लोकमा भगवान् श्रीसूर्यलाई 'शत्रुघ्न' भनिएको छ-
तमोघ्नाय हिमघ्नाय शत्रुघ्नायामितात्मने ।
कृतघ्नघ्नाय देवाय ज्योतिषां पतये नमः ।।
(वा०रा० ६।१०५/२०)
अर्थात् अन्धकार, शीत, शत्रु एवं कृतघ्नताका नाशक, विशाल (उदार) आत्माभएका र ज्योतिष्मान् पुञ्जका स्वामी-प्रकाशाधीश्वर देवलाई नमस्कार छ । यसबाट प्रष्ट रूपमा थाहा हुन्छ कि उहाँले रोगरूपी शत्रुहरूलाई नाश गर्नुहुन्छ ।