इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।
बुधवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएको हो ।
श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति दिने प्रक्रिया समेत सुरू भइसकेको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो ।
उहाँको अनुसार मध्यपूर्वमा बढ्दो तनावबारे परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली नियोग तथा राजदूतावासहरूमार्फत जानकारी एवं ट्राभल एड्भाइजरी जारी गर्ने कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “इरानको आक्रमणमा परी यूएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पार्थिव शरिर नेपाल ल्याएर आवश्यक कानुनी प्रक्रिया पुरा गरी परिवारलाई हस्तान्तरण गरिएको छ । परिवारलाई आवश्यक क्षतिपुर्ति दिने प्रक्रिया समेत सुरू भएको छ ।”
खड्काले पश्चिम एसियामा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जानकारी गराउँदै उहाँहरूको सुरक्षाका लागि सरकार गम्भीर रहेको समेत बताउनु भयो ।
मृतक श्रेष्ठ गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ थान्तीका हुन् । उनी यूएईमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए ।